एमाले नेता भानुभक्त जोशी एसमा प्रवेश 

10k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी विभाजनको अन्तिम समयमा एमालेमै बसेका जोशी आज (बिहीबार) समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 

आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन्। एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए। एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए।

जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु।’ पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन्। माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा जोशी सुदुरपश्चिमको सहइञ्चार्जको भूमिकामा थिए।

एमालेमा भएको १० बुँदे सहमतिलाई अक्षरस पालना गराउनुपर्ने अडानमा रहेका उनी अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन गर्न आलटाल गर्न थालेपछि एमालेबाट बाहिरिने निचोडमा पुगेका हुन्। जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन्।

१० बुँदे सहमति अनुसार सुदुरपश्चिमा पार्टी इञ्चार्जको जिम्मेवारी नपाएका भीम रावलले आफ्नो क्षेत्रमा लगातार शक्ति गुमाइरहेका छन्। गृहजिल्ला अछामका तत्कालीन एमालेका अध्यक्ष शेरबहादुर कुवुरले पनि नेकपा एकीकृत समाजवादी रोजेका थिए। राम्रो जनाधार रहेको मानिएका कुवरले एमाले छोडेपछि रावलले गृहजिल्लामा आफ्नो शक्ति गुमाएका थिए। अहिले फेरी सुदुरपश्चिममा राम्रो पकड रहेका नेता जोशीले पनि एमाले छोडने निर्णयमा पुगेपछि रावललाई अर्को झड्का लागेको छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार