लगातार एक्सनमा प्रचण्ड सरकारः ललिता निवास प्रकरणमा ५ जना पक्राउ

8.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसीलाई सीआईबीले पक्राउ गरेको हो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ । गुरुङले सो जग्गालाई स्टोरको रुपमा प्रयोग गरिरहेका छन् ।

यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । उनले सबैभन्दा बढी जग्गा आफन्त, नातागोता अनि विभिन्न व्यापारीलाई बेचेको आरोप छ ।
त्यसैगरी, मीनबहादुरले बालुवाटारको जग्गा गैरआवासीय नेपाली संघ (एनआरएन) लाई समेत जग्गा बिक्री गरेका थिए । २०७२ सालमा खरिद भएको उक्त जग्गामा एनआरएनएले भवन समेत बनाएको थियो ।

उक्त जग्गा किनबेचमा गुरुङ र उनकी श्रीमती संलग्न रहको तथ्य जग्गा खरिदका लागि गठित समितिले पत्ता लगाएको थियो । हाल उक्त भवनमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको छ । यी प्रकरणमा मुछिएपछि गुरुङ २०७७ माघ २१ गते आफैँ विशेषमा उपस्थित भएका थिए । उपस्थित भएकै दिन गुरुङ २ करोड धरौटी तिरेर छुटेका थिए ।

गुरुङले ललिता निवासको जग्गाको कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरू गुरुङले आफ्नै नाममा लिएको तथ्य फेला परेको थियो । साथै, उनले कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ भाटभटेनी डेभलपर्स प्रालिका नाममा राखेका छन् ।

यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा गुरुङसँगै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र धर्मप्रसाद गौतमलाईसमेत पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार