उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

22.1k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

२८ फागुन, काठमाडौं‌ । उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ।

शनिबार बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा चार जनाको मनोनयन दर्ता भएको हो।

चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिएको थियो।

सत्ता गठबन्धनकै मात्र तीन जनाले उम्मेदवारी दिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकले तीन जनालाई नै उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो।

साझा उम्मेदवार कसलाई बनाउने निर्णय लिन नसकेपछि तीन जनाले दर्ता गराएका हुन्। जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन्।

रामसहाय प्रसाद यादवको प्रस्तावकमा अशाेककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकाेटा र भानुभक्त जाेशी उनका समर्थक छन्।

प्रमिला यादवका प्रस्तावकहरू रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्।

अनिता देवकोटा, सीता गुरूङ, विरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ भने उनका समर्थकहरू हुन्।

यस्तै जनमत पार्टीकी सांसद ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी हुन्। आइतबार फेरि सत्ता गठबन्धन दलहरूबीच बैठक बसेर साझा उम्मेदवार टुंगो लगाउने गठबन्धन दलहरूले निर्णय गरेका छन्।

झाका प्रस्तावक अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। समर्थक भने गाेमा लाभ सापकाेटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।

तर जनमत पार्टीका अध्यक्ष सिके राउतले भने आफूहरूको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। यही कुरा गठबन्धनमा पनि राख्ने र जसपाले फिर्ता नलिए मित्रवत रूपमा प्रतिस्पर्धा हुने बताएका हुन्।

यता प्रमुख प्रतिपक्षीको रूपमा रहेको नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।

उनका प्रस्तावकमा अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ छन्। कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल भने समर्थक हुन्।

यसरी सत्ता गठबन्धनको तर्फबाट तीन जना र नेकपा एमालेको तर्फबाट एक जना गरी जम्मा ४ जनाको उम्मेदवारी परेको हो। आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ।

यस्तै गत बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका थिए।

पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीको समर्थन थियो। अहिले यी दल सत्ता गठबन्धनमा छन्।

ताजा अपडेट
सम्बन्धित समाचार