रौतहटको क्षेत्र नै १ मा एक्लिदै जसपा

8.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः नेकपा एमालेसित रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन गरेको जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार एक्लिएका छन् ।
एमालेका उम्मेदवारले गठबन्धनको मान्यता विपरीत स्वतन्त्र उम्मेदवारलाई च्यापेर प्रचारमा लागेका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी(एस)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।उनको विरुद्ध एमाले जसपा गठबन्धनबाट गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ता एमालेबाट उम्मेदवारी दिएका छन् । जसपाले क्षेत्र १ को ख मा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई उम्मेदवार बनाएका छन् ।सो प्रदेशमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले उम्मेदवारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राजेश चौधरीले एमाले र सत्तारुढ गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साहको समर्थन प्राप्त गरेका छन् । एमालेले गठबन्धनको धर्म निर्वाह नगरेको जसपाका नेताहरुको आरोप छ ।प्रतिनिधिसभामा जसपाको उम्मेदवार छैन् ।

प्रदेश सभाका उम्मेदवार राज्यमन्त्री यादवले एक्लै चुनाव लडिरहेका छन् ।उनीहरु प्रतिनिधिसभामा मतदान गर्ने उम्मेदवारको विषयमा निर्णयमा पुगिसकेका छैनन् । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका गुप्ताले टिकट वितरण पूर्व नै प्रदेशसभा ख का लागि चौधरीसित तालमेल गरेकाले स्वतन्त्र उम्मेदवारी चौधरीले दिए पनि गुप्ताले त्यसलाई निरन्तरता दिएका छन् । एमालेको टिकट नलिई रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरे पनि क्षेत्र नम्बर १ उनले नेपालको विरुद्ध गुप्तालाई समर्थन गरेका छन् ।प्रदेशमा चौधरीलाई साहले उम्मेदवार नै बनाएको घोषणा गरेका छन् । सो प्रदेशमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गुप्ता र जसपाका प्रदेशसभा उम्मेदवार यादवबीच हाल सम्म कुनै संवाद र सहकार्यको प्रयास भएको छैन् ।गुप्ताले चौधरीलाई च्यापेपछि यादव एक्लै चुनावी जंगमा डटेका छन् । जसपा युवा नेता श्यामबिहारी यादवले एमालेबाट ठूलो धोका भएको आरोप लगाए ।‘केन्द्रमा जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी ओलीबीच गठबन्धनको निर्णय भएको हो’ उनले भने, तर अधिकांश क्षेत्रमा एमालेले त्यसको इमान्दारीपूर्वक कार्यान्वयन गरिरहेको छैन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुप्ताले मत दिने वडामा उनलाई र नेपालका मतदाताले मत दिने वडामा कलम छापमा मतदान गर्न सक्ने युवा नेता यादवले बताए ।तर उनले यस सम्बन्धमा पार्टी भित्र निर्णय हुन बाँकी रहेको बताए ।

प्रदेशमा त्रिकोणात्मक प्रतिस्पर्धा रहेको छ ।सत्तारुढ गठबन्धनका उम्मेदवार यादव र जसपाका उम्मेदवार यादवबीच मुख्य प्रतिस्पर्धा रहेको तर्क दिनेहरु पनि छन् ।तर कतिपयले यादवद्वयबीचको टक्करमा चौधरीले बाजी मार्न सक्ने संभावना पनि कमजोर नरहेको बताए । रौतहटमा प्रभु साहले एमाले छाडेर भाँडभैलो मच्चाए पनि क्षेत्र नम्बर १ मा गुप्तालाई समर्थन गरी साहले एमालेसितको निकट्ता कायमै राख्न चाहेको आरोप लागेको छ ।उनले एमालेका उम्मेदवार गुप्तालाई सघाइरहेका छन् ।साहले गुप्तालाई पनि स्वतन्त्र उम्मेदवार दिन भने पनि जसपा गठबन्धनबाट एमालेको टिकट लिएर गुप्ता चुनावमा उठेका छन् । एमालेले मधेश प्रदेशमा जसपाका उम्मेदवार हरुलाई सार्वजनिक र भित्री रुपमा घात गरिरहेको आरोप एमालेमाथि लाग्न थालेको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवार प्रदीप यादव र क्षेत्र नम्बर २ उम्मेदवार रहेका सुरेन्द्र कुर्मीलाई एमालेले घात गर्न सक्ने आशंका गरिएको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाका उम्मेदवार रामबाबु यादवविरुद्ध एमालेले ज्वाला साहलाई उम्मेदवार बनाएको छ । तर समग्रमा रौतहट, बारा र पर्सा जिल्लामा स्वतन्त्र उम्मेदवार प्रभु साहको भूमिकासमेत प्रभावकारी देखिएको छ ।उनले जातिगत रुपमा काम गरिरहेको बताइए पनि तीन जिल्लाको क्षेत्र र प्रदेशमा केही उम्मेदवारहरुलाई हराउन प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने संभावना रहेको बताइएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार