तनावमा उपेन्द्र यादव,गठबन्धन तोडेपछि महङ्गो सावित

6.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौ: नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगको सत्तागठबन्धनसँगको सहयात्रा तोड्दा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई निकै महङ्गो सावित हुने भएको छ । 

अब जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ बाट चुनाव जित्न निकै कठिन पर्ने भएको छ । स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई कठिन देखिएको हो । गत वर्ष सम्पन्न स्थानीय तहमा वडा अध्यक्षले ल्याएको मत परिणाम  हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार भन्दा धेरै पछि छन् । 

सप्तरी २ मा जसपाको भोट १४ हजार ४ सय ३ मात्र हो । त्यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी र लोसपाले ल्याएको भोट जोड्दा १२ हजार भन्दा धेरै भोटले जसपा भन्दा अगाडि छ । गत स्थानीय तहमा सप्तरी २ मा नेपाली कांग्रेसले  १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा  माओवादीले ९ हजार ५ सय ३४ भोट ल्याएका छन् । 

सप्तरी २ मा  एमालेको भोट ५ हजार ९ सय ५१ मात्र छ ।  यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५ सय ४२ भोट ल्याएको छ । त्यस क्षेत्रमा नेकपा (एस) को २ हजार ४ सय ८ भोट छ ।  त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ४८ भोट छ ।  सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले  साथ दिएका छन् । 

जसपा र एमालेको मत जोड्दा करिब २० हजार भोट हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ । यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ ।  त्यहाँ लोसपाका उम्मेदवार ठाकुर धेरै अगाडि छन् ।  सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उम्मेदवारी दिएका छन् । सप्तरी २ बाट जनमत पार्टी दुई वटा स्थानीय तहमा विजयी भएको छ । यस आधारमा सप्तरी २ राउत पनि लोकप्रिय उम्मेदवार हुन् । 

गत स्थानीय तहमा जनमत पार्टीले  वडाध्यक्षले ल्याएको मत परिणामको आधारमा सप्तरी २ मा राउतको भोट करिब ५ हजार छ । त्यस क्षेत्रमा राप्रपाबाट कैला मंसुरी ९मिया० र राप्रपाबाट हजरत अलीले उम्मेदवारी दिएका छन् ।  सप्तरी २ को यो अंकगणित अध्यक्ष यादवले राम्रोसँग बुझेका छन् । उनलाई चुनाव जित्न माओवादी केन्द्र र एसको साथ चाहिन्छ । माओवादी केन्द्र र एसको साथ खोज्न अध्यक्ष यादवले एउटा चलाखी खेलेका छन् । 

मधेस प्रदेश सरकारबाट उनले कांग्रेसका मन्त्रीहरुलाई मात्र हटाएका छन् भने माओवादी र एसका मन्त्रीहरूलाई मधेस प्रदेश सरकारमा निरन्तरता दिएका छन् ।  

केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीहरूलाई सरकारबाट हटाएको भोलिपल्टै मधेस प्रदेश सरकारका  मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट कांग्रेसका मन्त्रीहरुलाई निकालेका थिए ।  अध्यक्ष यादवको निर्देशनमा मधेस सरकारका मुख्यमन्त्री राउतले यस्तो हर्कत गरेका थिए । तर सप्तरी २ मा यादवले सोचे जस्तो माओवादी र एसले उनलाई साथ दिने अवस्था छैन । 

माओवादी र लोसपाका स्थानीय नेताहरूले केन्द्रमा गरिएको सहमति सप्तरी २ मा हुबहु लागु गर्ने प्रतिबद्धता गरेका छन् । यसमा अलिकति पनि तलमाथि हुन नदिने उनीहरुको भनाइ छ । 

ताजा अपडेट
सम्बन्धित समाचार