‘किराती सभ्यता नेपालको अभिन्न अंग’ हो : झलनाथ खनाल

8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले किराती सभ्यता नेपालको अभिन्न अंग भएको बताएका छन् । किराती सभ्यतासँग जोडिएको नाटक खुवालुङ हेरेपछि नेता खनालले नेपालको अभिन्न किराती सभ्यतासँग जोडिएको किरातीहरुको आस्था र विश्वास खुवालुङको रक्षा गर्नुपर्ने बताएका हुन् ।

नेता खनाल शनिबार खुवालुङ हेर्न मण्डला नाटकघर पुगेका थिए । नेता नाटक खुवालुङलाई उत्कृष्ट सृजनाहरुको रुपमा व्याख्या गरे । उनले भने, ‘अत्यन्तै सुन्दर, संवेदनशिल सृजना प्रस्तुत गर्नुभएको छ । नेपाल सभ्यतै–सभ्यताहरुको थलो हो । अनेकन दर्शनहरुको थलो हो । यो अनेकन अध्येता र अनुसन्धानकर्ताहरुको थलो हो । किरात सभ्यता हाम्रो नेपालको अभिन्न अंग हो । किरात सभ्यताको जुन झाँकीहरु यो नाटकमा प्रस्तुत गर्नुभएको छ । जुन सिप र कलाको साथ प्रस्तुत गर्नुभएको छ । म बधाई दिन्छु ।’

नेता खनालले खुवालुङ किरातीहरुको आस्था र विश्वास भएको भन्दै यसको रक्षा गर्नुपर्ने बताए । उनले भने, ‘ यसलाई भत्काउने कुरा गरिएपछि किराती जनताहरुले आन्दोलन गरे । वास्तवमा यो जनताको आस्था र विश्वास हो । रक्षा गर्नुपर्छ । हामीले हाम्रो संस्कृतिको रक्षा गरेनौं भने यो धर्तीको रक्षा गर्न सक्दैनौं । २ करोड ९२ लाख नेपालीहरुलाई खुवालुङ यो सन्देश दिएको छ । नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओले चिनियाँ क्रान्तिको क्रममा स्थानीय जनताको आस्था र विश्वासलाई गरेको सम्मानको प्रसङ्ग पनि सुनाए ।

उनले सुनाए, ‘चिनियाँ जनक्रान्ति चल्दै गर्दा ह्वाङ्गो नदि पार गर्दै जनमुक्ति सेनासंगै चिनियाँ कम्युनिष्ट पार्टीको सर्बोच्च नेता माओ एउटा म्याओ जातिको गाउ पुग्नुभएछ । त्यहाँ ठुलो पोखरी भित्र माछै माछा देखेपछी लडाकुहरूले माछा खाने निधो गरेछन् । गाउँ पुगेर बिश्रामा गर्दै गर्दा माओले भन्नुभएछ, ‘हामी जुन ठाउँमा पुगेको छौं । यो ठाउँको आस्था र बिश्वास हो माछा ।’ जनताको आस्था र बिश्वासमा घात पुग्ने गरी कसैले माछा नचलाउनु भन्ने आदेश दिनुभएछ । जनमुक्ति सेनाहरू अचम्म परेछन् । त्यसरी कम्युनिष्ट पार्टीका महान नेता माओले जनताको आस्थार बिश्वासलाइ सम्मान गर्नुभयो । त्यस्तै नेपालको पुर्वमा खुवालुङ्ग फुटाउने निर्णय बिरूद्ध ठुलो आन्दोलन भयो । बास्तवमा हामी कुनै पनि देशको नेताले देशका जनताका आस्था र बिश्वासलाइ सम्मान गर्नुपर्छ।देशको संस्कार ,सस्कृति , बिकास र पहिचानको रक्षा गर्नु हामी सम्पुर्ण नेपालीहरूको कर्तव्य हो ।’ 

ताजा अपडेट
सम्बन्धित समाचार