राम्रो कामको लागि कहिलेकाही कडाइका साथ जानुपर्दछ : प्रधानमन्त्री देउवा

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो कामको लागि कहिलेकाही कडाईका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘धनगढीलाई सुन्दर बनाउने हो भने खोला नाला अतिक्रमण हटाउनुपर्छ’, उनले भने । ‘राम्रो कामको लागि कहिलेकाही कडाईका साथमा जानुपर्दछ ।’ 

धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । धनगढीमा अहिले खोलानाला अतिक्रमण हटाउने काम भईरहेको छ । प्रधानमन्त्री देउवाले नगर सुन्दर राख्नका लागि प्राकृतिक जंगल र खोलानाला अतिक्रमण हुनबाट रोक्नु पर्ने बताए । उनले सुदूरपश्चिम सुन्दर भएको हुँदा अझ सुन्दर बनाउन निर्देशनसमेत दिए । ‘सुदूरपश्चिम सुन्दर ठाउँ हो’, उनले भने  ‘अझ थप सुन्दर बनाउन धनगढीका मेयर सापबाट सुरु हुने विश्वास छ ।’

कैलालीमा नदी कटानको समस्या रहेको भन्दै देउवाले यस विषयमा समेत आफूले पहल गर्ने बताए  । उनले भने, ‘अहिले नदी कटानको समस्या छ । मोहनादेखि पूर्व सत्तीसम्म सबै मिलेर गर्न सकिन्छ । भारतसँग कुरा गर्न सकिन्छ । ’

प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरे । उनले स्थानीय, प्रदेश र संघीय सरकार समन्वयको साथ अगाडि बढ्नुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको बताए । ‘कर्मचारी केन्द्रमा बस्न चाहन्छन् । उनीहरू प्रदेशमा आउन चाहरिरहेका छैनन्’ प्रधानमन्त्री देउवाले भने ‘उनीहरूलाई अवसर दिएर भए पनि प्रदेशमा ल्याउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ’ उनले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद ।’  उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे । ‘म धनगढीबाट भारत हुँदै रेल चढेर काठमाडौं पुगेको थिए । अहिले एभ्रिडे विमान आएको छ । छिट्टै पुगिन्छ । महत्वपूर्ण कुरा भएको छ’ उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन शुक्रबार कञ्चनपुर आएका प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानरको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन । 

ताजा अपडेट
सम्बन्धित समाचार