एकीकृत समाजवादीमा उम्मेदवार चयन वैशाख ८ सम्म टुंग्याइसक्ने

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ।

चैत्र २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले उम्मेदवार चयनको ८ बुँदे मापदण्ड तय गरेको महासचिव बेदुराम भुसालले बताए। 

भुसालका अनुसार पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ। 

यस्तै, भुसालले जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने खालको हुनुपर्ने बताए। 

बैठकले उम्मेदवारको सिफारिस समयसमेत पार्टी मातहतलाई निर्देशन दिएको छ। वडा कमिटीले यही चैत्र ३० गतेभित्र, पालिका कमिटीले आगामी वैशाख २  गतेभित्र, जिल्ला कमिटीले आगामी वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र उम्मेदवार टुंग्याउने गरी निर्णय गरेको समेत महासचिव भुसालले बताए। 

यस्तै, बैठकले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गर्ने स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित समेत गरेको छ। 

 

ताजा अपडेट
सम्बन्धित समाचार