प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल, के- के भयो कुराकानी ?

26.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो। समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायतका विषयमा छलफल भएको बताइएको छ । निर्वाचनबारे गठबन्धनमा लामो समयदेखि छलफल भइरहे पनि निष्कर्ष निस्किएको छैन ।

निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो।

निर्वाचन आयोगले सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्न ताकेता गरे पनि गठबन्धनमा सहमति नजुटेका कारण ढिलाइ भइरहेको छ । माओवादी र समाजवादी पार्टी वैशाखमा स्थानीय निर्वाचन गर्न नहुने पक्षमा रहँदै आएका छन् ।

सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।

तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।

यस्तै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको बताइएको छ । बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिएकी थिइन् ।

ताजा अपडेट
सम्बन्धित समाचार