इस्कन मन्दिरमा तोडफोड हुँदा एक भक्तजनको मृत्यु

9.9k Shares

एजेन्सी : बंगलादेशमा रहेको एक ‘इस्कन मन्दिर’ मा तोडफोड भएको छ । सो क्रममा एक भक्तजनको मृत्यु भएको जनाइएको छ । बंगलादेशमा भड्किएको साम्प्रदायिक हिंसामा बिहीबारयता ५ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतको अंग्रेजी अखबार ‘द इन्डियन एक्सप्रेस’ ले यस खबरलाई पहिलो प्रमुख स्थान दिएर छापेको छ । अखबारका अनुसार भारतले भनेको छ कि यो हमला साम्प्रदायिक हिंसा भड्काउनका लागि समन्वित र योजनाबद्ध तरीकाले भएको छ । बंगलादेशमा लगातार बढ्दो हिंसाका घटनाहरुलाई रोक्न वा नियन्त्रण गर्न त्यहाँको सरकार असमर्थ रहेको भन्दै भारतले चिन्ता जाहेर गरेको पनि उक्त अखबारले लेखेको छ । जबकि सुरक्षाका लागि भन्दै बंगलादेशका आधा भन्दा बढी प्रशासनिक जिल्लाहरुमा अर्धसैनिक बलको भारी तैनाथी छ ।

नोआखलीको इस्कन मन्दिरमा भएको उक्त आक्रमणले त्यहाँ रहेका अल्पसंख्यक हिन्दू समुदायलाई स्तब्ध बनाएको छ र उनीहरु सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

स्रोतहरुका अनुसार बंगलादेशमा २ समुदायहरुबीच साम्प्रदायिक दंगा भड्काउन इस्लामी चरमपन्थी समूहहरुको संलग्नता रहेको आशंका गरिएको छ, यसबारे थप अनुसन्धान भैरहेको छ ।

इस्कन प्राधिकरणले घटनाको बारेमा ट्वीट गरेर मन्दिरमा तोडफोडपछिको तस्वीर शेयर गर्दै लेखेको छ, ‘बांग्लादेशको नोआखलीमा इस्कन मन्दिर र भक्तहरुमाथि हिंसात्मक हमला भएको छ । मन्दिरलाई ठूलो क्षति पुगेको छ र एक भक्तको अवस्था अत्यन्तै नाजुक छ ।’

शनिबार साँझ अर्को ट्वीट गर्दै इस्कनले भनेको छ, ‘पार्थ दास एक उत्साही भक्त थिए, जसलाई हिजो २०० मानिसको उत्तेजित भीडले मारेको थियो । उनको शव मन्दिर नजिकैको पोखरीबाट बरामद गरिएको छ ।’

इस्कनले थप भनेको छ, ‘हामीले बंगलादेश सरकारलाई सबै हिन्दूहरुको सुरक्षा सुनिश्चित गर्न र षड्यन्त्रकारीहरुलाई सजाय दिन आग्रह गरेका छौँ ।’

केही दिनअघि बंगलादेशको कोमिला जिल्लाको चाँदपुरमा दुर्गा पूजाका क्रममा भएको हमलामा ४ जनाको मृत्यु भएको थियो । यसपछि बंगलादेश प्रशासनले राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धमा रेड अलर्ट जारी गरेको छ । प्रारम्भिक अनुसन्धानमा अल्पसंख्यक हिन्दू समुदायको दुर्गा पूजा पर्वमा हिंसा भड्काउने दोषीहरुविरुद्ध महत्वपूर्ण सुराक मिलेको अधिकारीहरुले बताएका छन् ।

त्यहाँका गृहमन्त्री असद-उज-जमान खान कमलले पत्रकारहरुसँग भने, ‘हामी आशावादी छौं कि अर्को एक वा दुई दिनमा घटनाको अनुसन्धानमा प्रगति हुनेछ ।’

बंगलादेशकी प्रधानमन्त्री शेख हसीनले कोमिला जिल्लामा केही दिनअघि भएको हिन्दू मन्दिरहरु र दुर्गा पूजा पण्डलहरुमाथिको हमलापछि कडा चेतावनी जारी गरेकी थिइन् । तर पनि हिंसा रोकिएन, त्यसको केही घण्टापछि नै इस्कन मन्दिरमा हमला भयो ।

प्रधानमन्त्री हसीनाले भनेकी थिइन्, ‘कसैलाई पनि छोडिने छैन । उनीहरु (हमलाकारी) कुन धर्मका हुन् भन्ने पनि फरक पर्दैन । उनीहरुलाई पत्ता लगाई सजाय दिइनेछ ।’

ताजा अपडेट
सम्बन्धित समाचार