तालिबानी अधिकारी र अमेरिकी प्रतिनिधिबीच कतारमा वार्ता

288 Shares

एजेन्सी : हालै अफगानिस्तानको सत्तामा आएको तालिवानका वरिष्ठ अधिकारी र अफगानिस्तान छाडेको अमेरिकी प्रतिनिधिबीच कतारमा वार्ता भएको छ। वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन् ।

शनिबार राति कतारको दोहामा दुवै पक्षबीच सुरु भएको वार्ता आइतबार पनि जारी रहेको जनाइएको छ । वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

गत अगस्ट ३१ अमेरिकी सेना अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि तालिवानसँग अमेरिकाले गरेको यो नै पहिलो वार्ता हो । वार्तामा गत वर्ष अमेरिका तालिबानले गरेका सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको जनाइएको छ । साथै अमेरिकाले अफगन नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

तालिबानी अधिकारीहरुले अमेरिकी प्रतिनिधिसँगको वार्ता लगत्तै युरोपेली युनियनका अधिकारीहरूसँग समेत वार्ता गर्ने कार्यक्रम रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।