प्रधानमन्त्री देउवाद्धारा जनअपेक्षा अनुसार काम गर्न मन्त्रीहरूलाई सुझाव

309 Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ८८औँ दिनमा मात्र सरकारले पूर्णता पाएको छ। मन्त्रिपरिषदमा प्रमुख सत्तारुढ दल कांग्रेसबाट प्रधानमन्त्रीसहित नौ मन्त्री तथा एक राज्यमन्त्री, माओवादी केन्द्रबाट पाँच मन्त्री तथा एक राज्यमन्त्री, एकीकृत समाजवादीबाट चार मन्त्री तथा एक राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा)बाट चार जना मन्त्री सहभागी भएका छन्। तर, २५ सदस्यीय मन्त्रिपरिषद्मा यस पटक उपप्रधानमन्त्री बनाइएको छैन। देउवा एमालेका अध्यक्ष केपी ओलीको पूर्ववर्ती सरकारको विकल्पका रूपमा प्रतिपक्षीबाट सोझै सरकारमा पुगेका छन्।

सरकारले पूर्णता पाए लगत्तै मन्त्रीपरिषद बैठक बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले जनआकांक्षा अनुसार काम गर्न निर्देशन समेत दिए। उनले मुलुकको आवश्यकताअनुसार उत्साह र इमानदारीका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन पनि दिएका छन्। साथै जनअपेक्षा अनुसार काम गर्न मन्त्रीहरूलाई सार्वजनिक वृत्तबाट पनि सुझावहरू आएका छन्। यहीक्रममा प्रशासक अर्जुन सुवेदीले मन्त्रालयका समस्या सुधार प्रभावकारी कार्यान्वयनका लागि सल्लाह सुझाव ग्रहण गरेर अघि बढ्न सुझाव दिएका छन्। उनले चुनावमा जनताको घर दैलो पुगेर गरेका प्रतिबद्धताप्रति इमान्दारिता देखाउन पनि आग्रह गरेका छन्।

यस्ता छन् प्रशासक सुवेदीका सुझाव

माननियज्युहरु मन्त्री भए भन्दैमा मख्ख नपर्नु होला। तपाइको सोच इच्छा कदापि पूरा हुनै सक्दैन। यदि तपाईंहरू सफल हुन चाहनुहुन्छ भने केही कुरामा ध्यान दिन जरुरी छ।

१. निजी सचिवालयमा आफ्ना हैन सम्बन्धित ज्ञान भएको टिम राख्नु होला।
२. स्वकीय सचिवालयमा मन्त्रालयकै इमानदार छेउ पारिएकालाई मन्त्रालयको कार्य प्रकृति बुझेकोलाई पहिलो प्राथमिकता दिनु होला।
३. मन्त्रालयका पूर्व मन्त्री, पूर्व सचिव, पूर्व महाशाखा प्रमुख, सम्बन्धित विज्ञबाट मन्त्रालयका समस्या सुधार प्रभावकारी कार्यान्वयनका सम्बन्धमा सल्लाह सुझाव ग्रहण गर्ने क्षमता राख्नु होस।
४. त्या ब्युरोक्रासिबाट आउने फाइल सिधै हैन अध्ययन गरेर मात्र अगाडी बढाउनु होला।
५. मन्त्रालयसँग सम्बन्धित ऐन नियम कार्यविधि कार्यसञ्चालन प्रक्रिया आफू र निजी सचिवालयका टिमलाई अध्ययन गर्न लगाउनु होस।
६. पुरै बुझाइ भए पछि आफ्नो स्पष्ट खाका तयार गरी कर्मचारीलाई कार्यान्वयनबारे ब्रिफिङ गर्नु होस।
७. कम्तीमा १५ दिनमा सचिव महाशाखा प्रमुखलाई राखेर कार्यप्रगती समस्या बारे बुझ्नुहोस्। समस्या निदानमा सहयोग गर्नु होस।
८. केही समय पछि नजिता नदिने कार्यसम्पादन आलटाल गर्ने कर्मचारीलाई फेरबदल गर्नु होस।
९. कार्यविधिको बहानामा फाइल अट्काउने अगाडि नबढाउने अनेक बहाना गरिन्छ त्या सचिवालयको टिमलाई परिचालन गरी काम अगाडि बढाउन ध्यान दिनु होस।
१०. भोलि के गर्ने तो आजै राती तयार गर्नु होस, नयाँ विषयमा बोल्नु पर्ने भए अध्ययन गरेर तयारी गर्नु होस।
११. हरेक दिन सम्भव भएसम्म सचिव र महाशाखा प्रमुख शीत छोटो भेटघाट कार्य निर्देशन प्रगति बारे छलफल गर्नु होस।
१२. मिठा चिल्ला कुरा गर्ने देखि सचेत रहनु होस।
१३. आफूले गरेको कार्यप्रगती सचिवालय मार्फत जानकारी दिनुहोस्।
१४. आफ्नो एक विश्वास पात्रलाई पुरै मन्त्रालय, निजी, स्वकीय सचिवालयका गतिविधि गोप्य रूपमा निगरानी गर्न लगाउनु होस।
१५. लोकप्रिय बन्न असम्भव हैन सम्भावित योजना छान्नुहोस्।
१६. हिजोका दिन, दुखका दिन, चुनावका प्रतिबद्धता, जनताको दैलो सदा सम्झनुहोस्।
१७. भोजभतेर, खाना खाने, स्वागत, उद्घाटनजस्ता अनुत्पादक कुरामा समय नबिताउनु होस।
१८. सिंहदरबार पसेर तलको ग्रामीण दृश्य नबिर्सनु होला चुनाव नजिकै आउँदै छ। भोलि यही दृश्यले तपाईँको मूल्यांकन गर्ने हो।