देउवा सरकारद्धारा मन्त्रीमण्डल विस्तार, को को मन्त्री थपिए !

336 Shares

काठमाडौं: सरकारको नेतृत्व सम्हालेको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले मन्त्री बन्नेको नाम टुंगो लगाएर बुझाएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट मन्त्रिपरिषद विस्तार भएको हो।

यसअघि केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेका थिए। सर्वोच्चले संसद विघटनलाइ बदर गर्दै संसद पुनर्स्थापना गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको थियो। यद्यपि देउवाले लामो समयसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन्।

मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गरेका छन् । देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी समाजवादीकै भवानीप्रसाद खापुङले पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री भएका छन् ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृहमन्त्री, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई भने प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिएको छ ।