ड्रग्स पार्टी भनेर चिनिने रेभ पार्टी के हो ? त्यहाँ के हुन्छ ?

11k Shares

हालै भारतमा चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज पानीजहाजबाट पक्राउ परेका थिए। उनी ड्रग्स पार्टी भनेर चिनिने रेभ पार्टीमा उपस्थित भएका थिए। शनिबार राति गिरफ्तार भएका आर्यत भोलि बिहीबारसम्म हिरासतमै हुनेछन्।

जब आर्यन खान पक्राउ परे, यतिबेला रेभ पार्टी पुनः चर्चामा आएको छ। गत शनिबार राति भारतको लागू औषधविरुद्धको सरकारी संस्था एनसीबीको टोलीले आर्यनसहित ८ जनालाई पक्राउ गरेर अनुसनधान गरिरहेको छ।

के हो रेभ पार्टी ? यसमा के गरिन्छ ?
रेभ पार्टी गोप्य रूपमा आयोजना गरिने रमाइलो कार्यक्रम हो। यो पार्टीमा लागुऔषध र मदिरा सेवन गर्ने मानिसहरु उपस्थित हुन्छन् र ठूलो स्पिकरमा घन्काइने गीतमा मात्तिएका मानिसहरु नाच्छन्। यस्तो पार्टीमा यौन सम्पर्क पनि हुने गर्छन्।

बीबीसीहिन्दीका अनुसार एनसीबीका एक अधिकारीले नाम नबताउने सर्तमा भनेका छन्, ‘रेभ पार्टी छानिएका सीमित व्यक्तिका लागि मात्र आयोजना गरिन्छ। नयाँ व्यक्तिलाई यस्ता पार्टीमा सहभागी गराइँदैन, जसले गर्दा यसबारे हल्ला नहोस्।’

रेभ पार्टी लागुऔषध प्रयोगकर्ता र बेच्नेहरूका लागि एक सुरक्षित स्थान मानिन्छ। एनसीबीका अधिकारीका अनुसार रेभ पार्टीमा ठूलो मात्रामा लागुऔषध प्रयोग गरिन्छ।

क्रुज जहाजमा आयोजित रेभ पार्टीबाट एनसीबीका अधिकारीले १३ ग्राम कोकिन, ५ ग्राम मेफेड्रोन र ३३ ट्याब्लेट एक्सटेसी बरामद गरेका छन्। ती अधिकारीले भने, ‘रेभ पार्टीमा एक्सटेसी, केटामाइन, एमडीएमए, एमडी र चरेस पनि प्रयोग गरिन्छ।’

पार्टीका क्रममा चर्को आवाजमा इलेक्ट्रिक ट्रान्स संगीत बजाइन्छ, जसले गर्दा लागुऔषध खानेहरू लामो समयसम्म एकै मुडमा रहनसक्छन्। पार्टीमा सहभागी व्यक्तिले लागुऔषध लिन्छन् र उक्त संगीतमा झुम्छन्।

रेभ पार्टी २४ घण्टादेखि ३ दिनसम्म पनि चल्छ। एनसीबीका अधिकारीका अनुसार रेभ पार्टीमा विशेष किसिमको म्युजिक सिस्टम हुन्छ, जसबाट इलेक्ट्रिक ट्रान्स म्युजिकलाई ठूलो आवाजमा बजाउन सकिन्छ।

लेजरदेखि रंगीन तस्बिर, भिजुअल इफेक्ट्स र धुवाँ निकाल्ने मेसिनसम्म रेभ पार्टीमा व्यवस्था गरिएको हुन्छ। छापा मार्ने टोलीमा सहभागी एक सूचना अधिकारीले भने, ‘रेभ पाटीमा बजाइने गीतमा शब्द निकै कम हुन्छन्। ट्रान्स म्युजिकले एक काल्पनिक वा भ्रमित पार्ने वातावरण सिर्जना गर्छ र र सहभागीलाई आनन्ददायक लाग्छ।’

उक्त पार्टीमा कोड भाषा प्रयोग गरिन्छ जसका कारण सहभागी सदस्यले मात्र के भनेको हो भनेर बुझ्न सक्छन्। मुम्बई प्रहरीका एक अवकाशप्राप्त अधिकारी समाधान धनेधर एनसीबीसँग काम गरिसकेका व्यक्ति हुन्।

उनी भन्छन्, ‘यो पार्टी टाढाटाढाको ठाउँमा आयोजना गरिन्छ। जसले गर्दा कसैले शंका गर्न नसकुन्।’ रेभ पार्टीमा सामान्यतया भारतका खन्डाला, लोनावला, करजात, खालापुर, पुणे तथा यस्तै किमिसका केही स्थानमा आयोजना गरिन्छ।

कस्ता व्यक्ति सहभागी हुन्छन्र,
रेभ पार्टीमा एकदमै कम व्यक्तिलाई मात्र बोलाइएको हुन्छ। यहाँ छनोट गरिएको समूह हुन्छ।

उक्त पार्टीमा सहभागी हुन हजारौं लाखौं रुपैयाँ खर्च गर्नुपर्छ। यसैले सामान्य व्यक्ति यसमा सहभागी हुन सक्दैनन्। यो पार्टी धनाढ्यहरूका लागि मात्र गरिन्छ। तर पछिल्ला केही वषैदेखि मध्यमवर्गीय युवा पनि आफ्ना धनी साथीसँग यस्ता पार्टीमा सहभागी हुने गरेका छन्।

रेभ पार्टी सन् १९८० को दशकमा युवामाझ लोकप्रिय भएको थियो।

छापा
मुम्बई प्रहरीले २००९ मा मुम्बईको जुहु क्षेत्रस्थित बम्बे ७२ क्लबमा छापा मारेको थियो। त्यस क्रममा ३४६ युवा पक्राउ परेका थिए। यीमध्ये रगत जाँच गर्दा धेरै जना लागुऔषध खाने व्यक्ति भएको पुष्टि भएको थियो।

यस्तै रायगढ प्रहरीले सन् २०११ मा खालापुरमा आयोजित रेभ पार्टीमा छापा मारेको थियो। एन्टी–नारकोटिक्स सेलका अधिकारी अनिल जाधवलाई समेत उक्त पार्टीमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको थियो।

पार्टीमा पक्राउ गरिएका २७५ जनाको रगत जाँच गर्दा उनीहरू लागुऔषध प्रयोगकर्ता भएको पुष्टि भएको थियो। २०१९ मा जुहुको ओकवुड होटलमा छापा मार्दा ९६ जना पक्राउ परेक थिए। ​-बीबीसीहिन्दी

ताजा अपडेट
सम्बन्धित समाचार