खतिवडाकै कारण नेकपा फेरी विवादको उल्झनमा फस्दै

489 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक समीकरण मिल्ने देखिएता पनि विवाद भने पुनः सिर्जना हुने आकलन गरिएको छ ।

विवादका कारण अरू कोही नभएर हालका अर्थ तथा सञ्चार मन्त्री समेत रहेका डा. युवराज खतिवडा रहेको जानकारहारुको दाबी छ । जानकारहरुका अनुसार मन्त्री खतिवडाकै कारण नेकपामा पुनः विवाद देखिएने भएको हो । 

अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरिरहेको भन्दै  बचाउ गरेपछि उनीबारे पुनः विभिन्न शंका उत्पन्न हुन थालेको  छ । नेकपामा अर्थमन्त्री सम्हाल्ने थुप्रै नेता भएपनि प्रधानमन्त्रीले सरकारी जागिरेलाई ल्याएको भन्दै विरोध समेत भइरहेको थियो । तर, अब फेरी उनको कार्यकाल सकिन लागेको छ । गएको फागुन २१ गते दोस्रो पटक अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल यही भदाैं २० मा सकिन लागेको हो । 

तर, कतिपयले उनलाई राष्ट्रिय सभामा लगेर पुनः मन्त्रीमा निरन्तरता दिने आशंका व्यक्त गरिरहेका बेला उनलाई पुनः यही कार्यकालमा संघीय संसदमा जान संविधानले नै नदिने तर्क अगाडी आउन थालेको छ ।

संविधानको धारा ८६ को उपधारा (५) मा भनिएको छ, राष्ट्रियसभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि गरिने छ । यसरी व्याख्या गर्नुको अर्थ अब पुनः सोही स्थानमा उनी जान नपाउने गरेर संविधान नै बाधक बन्ने कानुनका ज्ञाताहरूको भनाई छ ।  

संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने  व्यवस्था छ । सोही धाराको उपधारा (२) मा नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ । धारा ७८ को व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीले खतिवडालाई ६ महिनाका लागि मन्त्री पदमा नियुक्ति गरेका हुन् । 

यस्तै, अब खतिवडा पुनः मन्त्री बन्ने संवैधानिक बाटो बन्द भइसकेकाले त्यो स्थानमा अरू आउने आवाजहरू उठ्न थालेको  छ । तर, प्रधानमन्त्री ओलीले भने खतिवडालाई नै दोहोर्‍याउने तयारी थालेको बालुवाटार श्रोतले जनाएको छ । उनले नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कुरा समेत सकिएको र उनी नजाने भनेर भनेका छन्  । 

सचिवालयले निर्णय गरेपछि उपाध्यक्ष गाैतम राष्ट्रियसभामा जान तयार भएका थिए । तर, प्रधानमन्त्री ओली आफैले उनलाई लैजान अस्वीकार गरेका थिए । त्यसपछि नेकपामा विवादले थप उत्कर्ष लिएको थियो । अहिले एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्रीले खतिवडाको काम राम्रो भएको र गौतमको राष्ट्रियसभामा जाने बाटो बन्द भएको टिप्पणी दिएपछि नेकपामा विवाद फेरी अगाडी आउने बुझीएको छ ।