स्कटल्याण्डबाट प्रारम्भ हुनेभयो देउवाको विदेश भ्रमण , खास कारण यस्तो !

441 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट प्रारम्भ हुने भएको छ । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लाग्नुभएको हो ।

बेलायती कूटनीतिज्ञ एवं कोप–२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरिएको छ । बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गर्नुभएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने बताउनुभयो । मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी छ कँडेलले भन्नुभयो,नोभेम्बर १ र २ मा ग्लोबल लिडर समिट हुँदैछ । त्यसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछ । प्रधानमन्त्री देउवा सोही समिटमा सहभागी हुनु हुनेछ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी सम्मेलनमा सहभागी हुने चर्चा चलेको थियो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले निम्तो प्राप्त भए पनि निधो नभएको बताउनुभयो ।

निम्तो आएको थियो। तर निधो भएको थिएन। विभिन्न समयमा आएका डेलिगेसनहरूले नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता होस् भनेका थिए, ढकालले भन्नुभयो, ‘कोप–२६ मा सहभागिताबारे सरकारको निर्णय भएको थिएन । अहिले सरकारले प्रधानमन्त्री जाने निर्णय गरिसकेको थाहा पाएका छौं ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ । नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनले असर पारेका मुलुकलाई ५.७ बिलियन डलर सहयोग गर्ने घोषणा गरेको ब्लुमबर्गले जनाएको छ ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले पनि आफ्नो देश बाहिर कोइलाबाट विद्युत उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरिसक्नुभएको छ । गत महिना सार्वजनिक भएको अन्तर सरकारी समूहको जलवायु परिवर्तनसम्बन्धी अध्ययनले विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमालमा हिउँ घट्ने र गर्मी बढ्ने उल्लेख गरेको थियो ।