केपी ओली विदेशीका दलाल हुन्: प्रचण्ड

621 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहीको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल०को भेलामा सहभागी हुन बिहीबार काभ्रे पुगेका अध्यक्ष प्रचण्डले ओलीलाई हरुवा, भगौडा र फासिस्टको संज्ञा दिएका हुन् ।

“केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन्,” उनले भने, “उनी हिन्दु अतिवादीका अहंकारी र दलाल पनि हुन् ।”

प्रचण्डले ओलीजस्तो अहंकारी, दम्भ भएको र फासिष्टलाई ७० प्रतिशत बहुमतले कारबाही गरेको भन्दै विदेशी षड्यन्त्रका कारण मात्र उनी कारबाहीबाट जोगिएको दाबी गरे ।

“केपी ओलीजस्तो मूर्ख र बुद्धिहीन मान्छे मैले देखेको छैन,” प्रचण्डले भने, “पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले केपीले भाँडेको हो । विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ ।”

“केपी हरुवा हो, केपी भगौडा हो, कम्युनिस्ट आन्दोलनबाट भागेको हो, मार्क्सवादसँग हारेर भागेको हो,” प्रचण्डले भने, “हामी विजेता हौँ, केपी हरुवा हो भन्नेकुरा याद राख्नुहोला ।”

उनले घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेताहरूले ओलीसँग आत्मसमर्पण गरेको भन्दै उनीहरू ढिलोचाँडो ओलीसँग बस्न नसकेर बाहिरिने दाबी गरे ।

“हामीले केपी ओलीजस्तो अहंकारी र विदेशीको दासलाई संसदीय दलको नेताबाट हटाएर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया थालेका थियौँ,” प्रचण्डले भने, “केपीले विदेशीको इसारामा संसद् विघटन गरेर प्रतिक्रान्तिको बाटो लिएपछि बल्ल उपलब्धि जोखिममा परेको हो ।”