
असई थमन बिक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई विकको हत्या गरेको आरोपमा शर्मालाई जिल्ला अदालत महोत्तरीले जन्मकैद सजायको फैसाला सुनाएको हो ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई बिश्वकर्माको हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।
प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री समेत बनेका थिए ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको प्रहारबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।
यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।
बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।
अदालतको फैसला मान्न तयार छैनन लोसपका नेता
यता महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु भने अदालतको फैसला नश्लिय भएको आरोप लगाएका छन् । लोसपाका केन्द्रिय सचिव समेत रहेका अजय कुमार झाले महोत्तरी जिल्ला अदालतको फैसला मधेशको भावना विपरीत रहेको आरोप लगाएका छन् । उनले मधेश आन्दोलनका बेला भएको राजनितीक घटनालाई अपराधिक घटना जसरी हेरेर फैसला गर्नु न्यायोचित नभएको बताए । झाले उक्त घटना हुदा शर्मा जिल्ला नेतृत्वमा भएकै कारण जन्मकैदको सजाय पाउनु गलत भएको भन्दै अदालतले गरेको यो निर्णय मान्न नसकिने जिकिर गरे । अदालतले सुनाएको सजायले मधेश र मधेशी जनताको हित र भावनामा ठेस पुगेको बताए ।