
विराटनगर – कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारमाथि प्रदेशसभा बैठकमा प्रश्न गरिएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा नेकपा एकीकृत समाजवादी राजेन्द्रकुमार राईले उपसभामुख दनुवारको बिरामीको बहानाबाजी नाटक त होइन भन्ने प्रश्न गरेका छन् ।
प्रदेशसभा बैठकमा उनले भने, ‘बिरामी बहानाबाजी नाटक त होइन, शंका गर्न सकिन्छ, प्रश्न उठाउन सकिन्छ ।’ उपसभामुख दनुवार बिरामी भएको भन्दै सोमवारको प्रदेशसभा बैठकमा अनुपस्थित छिन् ।
मुख्यमन्त्री थापाले आइतवारको बैठकमा विश्वासको मत लिन समय माग गरेकोमा सोमवार मिति तोकिएकोप्रति पनि उनले आपत्ति जनाए । ‘यो धेरै नै गम्भीर कुरा हो, धेरै ठूलो त्रुटि हो । १ दिन सार्नुको उद्देश्य के देखियो भने मत हस्तान्तरण गर्ने, अन्यत्र सार्ने उद्देश्यबाट प्रेरित भएर । आइतवार अफिस खुल्ने समय चाहिएकाले अर्काे दिन सारेको देखियो । मुख्यमन्त्रीले माग गरेको अर्काे दिन समय तोक्ने, ९ जना माननीयको बिदा स्वीकृत गर्ने । नाटक मञ्चन गर्नुको उद्देश्य विश्वासको मत लिनका लागि असुविधा पार्ने ढंगको काम मात्रै हो ।’
पूर्व मुख्यमन्त्री समेत रहेका राईले सभामुखले बराबरी मत भए मात्रै भोट हाल्ने कुरा विश्वासको मतको कुरामा लागू नहुने दाबी पनि गरे ।
मुख्यमन्त्री थापाको पक्षमा ४७ सांसद देखिइसकेकाले मुद्दामामिला गर्नुको नैतिक आधार नभएको उनले बताए । उनले भने, ‘४७ सांसद अदालतमा उपस्थित हुन तयार छौं, बहुमत पुगिसकेपछि मुद्दामामिला गर्नु नैतिक रुपमा ठीक हुँदैन । ४७ देखिइसक्यो ।’