बलिया प्रतिष्पर्धी सेर्पालीसंग वाईसीएल नेतृत्वमा देवकोटाको दाबी

624 Shares

काठमाडाैं । वाईसीएल नेपालको राष्ट्रिय भेलाको मिति नजिकिएसंगै नेतृत्व कसले हत्याउने भन्ने विषय पेचिलो बन्दे गएको छ ।

वाईसीएल नेपालले यहि भदाै १२ र १३ गते राष्ट्रिय भेला भर्चुअल माध्यमबाट सम्पन्न गर्दैछ । ६४७ प्रतिनिधिको सहभागितामा राष्ट्रिय भेला सम्पन्न गर्न लागेको वाईसीएलको अध्यक्षमा दुईजनाको प्रतिष्पर्धा हुने भएको छ ।

वाइसीएल महासचिव सुवोधराज सेर्पाली र सुमन दवकोटाले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु यशोदा न्यौपाने, सुमन देवकोटा (अब्दुल), र सुरज सिंहकोसमेत अध्यक्षमा दाबेदारी रहेपनि मुख्यतया देवकोटाले प्रचण्ड निवासमा पुगेर आफू नै वाईसीएलको अध्यक्ष बन्न पाउनुपर्ने भन्दै भावनात्मक रुपमा लबिङ थालेका हुन् ।

तर, अध्यक्षको दाबेदारी प्रस्तुत गर्ने देवकोटा यसअघि वाईसीएलको संरचनामा सेर्पाली भन्दा जुनियर हुन् । रामप्रसाद सापकोटा 'दिपशिखा' अध्यक्ष बन्दा सेर्पालीले कार्यकारी पद रोजेका कारण देवकोटालाई उपाध्यक्षमा राखिएको माओवादी केन्द्रका नेताहरुले स्विकार्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा पुगेर देवकोकोटाले आफ्नो उमेर पनि सकिन लागेको र एक पटक युवाको नेतृत्व गर्ने इच्छा भएकाले आफूलाई माैका दिनुपर्ने भन्दै लबिङ गरेको स्रोतको दाबी छ । उनले यतिमात्र नभएर अहिले प्रकाश जिवित भएको भए आफू भन्दा अन्य व्यक्तिले वाईसीएलको जिम्मेवारी नपाउने भन्दै भावुक विषय राखेको जनाइएको छ ।

वाईसीएलमा उमेर हदका कारण धेरै नेताहरुको विदाई हुँदैछ । अहिलेका अध्यक्ष दिपशिखाको समेत उमेर सकिएपछि उनले छिट्टो भेला सम्पन्न गराउनुपर्ने बाध्यता छ । भने, अध्यक्षका दाबेदार देवकोटाको पनि ६ महिना मात्रै अध्यक्षमा रहने उमेर बाँकी रहन्छ ।

तर, सेर्पाली भने संगठनको नेतृत्व आफूले पाउनुपर्नेमा ढुक्क देखिन्छन् । १४ वर्षको उमेरमा माओवादी जनयुद्धमा बन्दुक बोक्न पुगेका उनी संगठनमा उनको क्रेज तथा आम युवा नेताहरुले उनलाई सहर्ष स्विकार गर्ने कारण पनि उनी वाईसीएलको अध्यक्ष दाबी प्रस्तुत गर्नदै आएको जनाइन्छ । अहिलेका अधिकांश पदाधिकारीहरु सेर्पालीले नै अध्यक्ष पाउनुपर्ने भन्दै दबाब दिन थालेपनि देवकोटाले प्रचण्डका पुत्र स्वर्गिय प्रकाश दाहालको नाम लिएर खुमलटारमा भावनात्मक लबिङ थालेको स्रोतको दाबी छ ।

सेर्पाली संगठनको जिल्ला, तत्कालीन मगरात राज्य, केन्द्रीय कोषाध्यक्ष महासचिवको जिम्मेवारी पूरा गर्दै अध्यक्षको दाबेदारी गर्ने स्थानमा पुगेका हुन् । उनी अहिले माओवादी केन्द्र लुम्बिनी प्रदेशको सदस्य समेत हुन् ।