विधान अधिवेशनको तयारीमा जुत्यो जसपा

5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग सातै प्रदेशबाट प्राप्त भइसकेकाले अब केही दिनमा बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने छ ।

विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको पार्टीले जनाएको छ । प्रतिनिधि चयन गर्नेसम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको र उनीहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको समेत बस्नेतले बताए। यसअघि गएको चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको भए पनि उपनिर्वाचनका कारण अधिवेशन आउँदो जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा हुने गरी सारिएको थियो ।

विधान अधिवेशनमा पेस गरिने विधानको मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित कार्यदलले तयार गरेको हो ।

सम्बन्धित समाचार