समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन नेकपा एस आयोगमा

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन नेकपा एसका नेताहरू निर्वाचन आयोग पुगेका हुन् । 

नेकपा एसका नेता गंगालाल तुलाधरलगायत नेताहरू बन्दसूची बोकेर आयोग पुगेका छन् । तुलाधर आफै पनि समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । उनी प्रत्यक्षतर्फ निर्वाचन लड्ने अपेक्षा गरिए पनि समानुपातिकमा बसेका छन् । 

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तुलाधरले आफूले प्रत्यक्षतर्फ राजेन्द्र पाण्डेलाई सिट छाडेको बताएका छन् । पाण्डे आफूभन्दा सिनियर र पार्टीमा उपाध्यक्ष पदमा रहेकाले प्रत्यक्षतर्फ उनलाई छाडेको तुलाधरले लोकान्तरलाई बताए । पाण्डे हाल बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका छन् । 

नेकपा एसले आदिवासी जनजाति क्लष्टरमा तुलाधरको नाम पहिलो नम्बरमा राखेको छ । त्यस्तै, खस आर्यबाट प्रमेश हमाल, महिलामा सावित्रा भुसाल र मधेशीतर्फ रामचन्द्र यादवको नाम पहिलो नम्बरमा राखेको छ । 

समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलहरू हालसम्म आयोग पुगेका छैनन् । आयोगले साँझ ५ बजेसम्म आयोग परिसरमा उपस्थित हुने दलको सूची दर्ता गर्ने जनाएको छ । 

 

सम्बन्धित समाचार