राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

9.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन्।

उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए। उनले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गरे।

‘व्यक्तिगत रुपमा म चाहीँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनको लागि जनताको बीचमै जानको लागि बेसी समय खर्च गर्नुपर्छ’ उनले भने, ‘त्यसकारणले भत्ता पकाउनको लागि मात्रै अब संसद आइदिन भनेर आउन छोडेको पनि थिएँ । तर पछिल्लो दिनमा जब संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रियाहरु प्रारम्भ भएका छन्। त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । त्यसकारण मैले बाटो बाटै सांसद छैन । छोडें । भनेर हिँड्नुको अर्थ हुँदैन।’

संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए। निर्वाचन घोषणा भएसँगै संसदको आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागित हुन नसक्ने बताए।

‘म आग्रह गर्न चाहन्छु, सचिवालयलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा पठाइने तलव, भत्ता, सुविधा समेत रोक्का गरियोस् । कहीँ लेखेर दिनुपर्छ भने म त्यो नियमानुसार लेखेर दिन पनि तयार छु । यस प्रकारको अनैतिक काममा सहभागि हुन कमसेकम मेरो आत्माले मानेन । मेरो अन्तर्आत्माको आवाज अनुसार, अन्तर्आत्माको निर्देशन अनुसार आज यो सबै चिज त्याग गर्न यहाँ उपस्थित भएको छु’ उनकाे भनाइ छ। 

आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताए। 

 

सम्बन्धित समाचार