मधेशका दुई नेता मातृका र गिरिराजले पाए सह–महासचिवको जिम्मेवारी

13k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः  नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका दुई नेता मातृका प्रसाद यादव र गिरिराज मणि पोखरेलबीच विद्यमान हैसियतको द्वन्द्वलाई अन्त्य गर्न दुबैलाई सह–महासचिवको जिम्मेवारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव अनुसार उनी दुबै जनालाई सह महासचिवको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रका दुवै नेता मधेश प्रदेशमा हैसियतका लडाइमा थिए । दुबै नेतालाई पार्टीका अध्यक्ष प्रचण्डले पटक पटक मिलेर काम गर्न निर्देशन दिएपनि दुबैको बीचमा तिक्कता भने थियो ।

नेता यादव र पोखरेल बीचको हैसियतको द्वन्द्वका कारण मधेश प्रदेशमा माओवादी कमजोर हुने देखिएकाले दुबैलाई समान हैसियतमा पार्टीमा स्थान दिइएको छ । दुबैलाई सह–महासचिव दिनु पर्ने अध्यक्ष प्रचण्डकै प्रस्ताव सर्वसम्मत रुपले पारित भएको थियो ।

दुबै नेता बीचको द्वन्द्वले स्थानीय तहको निर्वाचनमा पार्टीलाई नोक्सान बेहोर्नु परेको माओवादी केन्द्रको निर्वाचन समीक्षा बैठकमै जोडतोडले आवाज उठेको थियो ।

तर, विवाद भने अहिले सम्म अन्त हुन सकेको थिएन् । एक नेताका अनुसार गिरिराज आपूm अध्यक्ष प्रचण्डको नजिकको रहेको र आफ्नो हैसियत नेता यादव भन्दा उच्च रहेको एवं पार्टीगत विषयमा पनि बढि हस्तक्षेप गर्ने प्रवृतिका कारण मातृका भने उनीवाट असंतुष्ट थिए ।

असंतुष्टिकै कारण मधेश प्रदेशको प्रशिक्षण कार्यक्रम जनकपुरमा हुँदा मातृका अनुपस्थित भएका थिए । मातृका धनुषा निर्वाचन क्षेत्र नम्वर १ र गिरिराज महोत्तरी निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् ।

मन्त्री बन्ने पद लोलुप्ता नरहेका मातृकालाई गिरिराजले पटक पटक मन्त्री पद पाएपछि जिस्काउने हिसावले व्यवहार गर्ने र जिल्ला तथा स्थानीय तह स्तरका नेता कार्यकर्तालाई उचाल्ने प्रवृत्ति दिनप्रतिदिन हाबी हुँदै गएको थियो ।

मातृका खरो स्वभावका नेता भएका कारण उनी ती सामान्य कुराहरुलाई ध्यान नदिएपनि राजनीतिक रुपमा त्यसलाई सुधारको लागि पहल भने गरेका थिए ।

गिरिराज र मातृका बीचको विवाद राजनीतिक रुपमा उग्र हुँदै गएपछि पार्टी अध्यक्ष प्रचण्डले नै मध्यस्थता गरेको र विवाद साम्य गर्न पहल समेत गरेका थिए ।

प्रचण्ड आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुबै नेताको द्वन्द्व कारण पार्टीलाई नोक्सान बेहोर्नुपर्ने देखिएपछि समान हैसियतमा पार्टीमा स्थान दिएका छन् । प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका थिए ।

त्यस्तै उनले उपमहासचिवमा पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका थिए ।

बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ । पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार