प्रधानमन्त्री देउवाले गरे मतदान

715 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहपालिका गन्यापधुरा वडा नं १ को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानलगत्तै प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।' प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्री देउवा हेलीकप्टरबाट मतदान गर्न पुगेका हुन् । उनी धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवा एक सातादेखि सुदूरपश्चिममा छन् । तीन दिन गृह जिल्ला डडेलधुरामा रहेका देउवा बुधबार डडेलधुराबाट धनगढी गएका हुन् ।

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसबाट विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । डडेलधुरामा दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तह रहेका छन् ।