देउवा र माधव नेपालबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

819 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

 प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पाँच दलीय गठबन्धनको जनकपुरमा हुने आमसभालाई सम्बोधन गर्न जानुअघि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ ।


यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउनेबारे उनीहरुबीच छलफल भएको जनाईएको छ । भेटमा अध्यक्ष नेपालले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनका उम्मेद्धवार विजयी बनाउनुपर्ने र यसको लागि सबैले इमानदारितापूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कतिपय ठाउँमा गठबन्धनबीच नै राम्रो सहकार्य नभएको खबर आएको बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच आज भेटवार्ता भएको हो । गठबन्धनमा आवद्ध दलकै कतिपय नेताहरुले आधिकारिक उम्मेद्धवारको विरुद्धमा उम्मेद्धवारी दिएपछि गठबन्धनका शीर्ष नेताहरु तनावमा छन् ।

भरतपुरको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहालविरुद्ध कांग्रेसका पूराना नेता जगन्नाथ पौडेलले उम्मेद्धवारी दिएका छन् । पौडेललाई फकाउन गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नै लागिपरेका थिए । तर, पौडेलले आफ्नो उम्मेद्धवारी कुनै पनि हालतमा फिर्ता नलिने अडान लिए ।