कोरोनाबारे रणनीति बनाउन प्रधानमन्त्री गरे छलफल

503 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुरक्षा निकायका प्रमुखहरुसँग भावी रणनीतिबारे छलफल गरेका छन्।  बालुवाटारमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग कोरोनाको दोस्रो लहर आउन सक्ने जोखिमका बीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिएको बालुवाटार स्रोतले जनाकारी दियो । 

स्रोतका अनुसार सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले यतिबेला मन्त्रिपरिषदका वरिष्ठ मन्त्रीहरुसँग छलफल गरिरहेका छन्। कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)मा रहेका प्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्। सीसीएमसीले कोरोनाविरुद्ध सरकारले जारी गरेको लकडाउनको एक वर्ष पुगेको अवसरमा वर्षभरीको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी दिएको छ।

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरका कारण दैनिक हजारौंको संख्यामा संक्रमितहरु बढ्न थालेपछि नेपाल सरकारले पनि सुरक्षा तथा रोकथामका लागि कडाइ गर्ने नीति लिएको छ। सोहीअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लालाई निर्देशन दिँदै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गर्न भनेको छ।


गृहको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयहरुले आफू अनुकुलको निर्णयहरु गरिरहेका छन्। केही जिल्लाहरुले भीडाभाड हुने कार्यक्रममाथि नै प्रतिबन्ध लगाएका छन् भने केही जिल्लाहरुले जिल्ला प्रवेशद्वारम हेल्थ डेस्कको स्थापना गरेका छन्।