भारतबाट महँगोमा बिजुली किन्दा प्राधिकरणलाई ३५ दिनमै ८ अर्ब घाटा, कुलमान भन्छन् कुनै पनि हालतमा लोडसेडिङ हुन दिँदैनौँ

3.6k Shares

काठमाडौँ । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको बताएका हुुन्  । तर महँगोमै बिजुली किनेर भएपनि बिहीबार रातिबाट सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने उनले बताए । 

उनले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पारेका छन् । उनले भने , ‘यो तत्कालीन असर हो । केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको छ, हामीले महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिन्छौं, राति १२ बजेदेखि कुनै पनि उद्योगलाई बिजुलीको समस्या हुँदैन । ’ 

प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेकाले भारतबाट बिजुली पाउनेमा आफू आशावादी रहेको घिसिङले बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएको छ । त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले बताए ।