फागुन ९ गतेदेखि ९ औं संस्करणको टि—१० क्रिकेट प्रिमियर लिग हुने

4.9k Shares

विराटनगर । नेपाल अग्रवाल युवामञ्च विराटनगरले फागुन ९ गतेदेखि विराटनगरमा ९ औं संस्करणको टि—१० क्रिकेट प्रिमियर लिग हुने भएको छ । बिहीबार मारवाडी युवा मञ्चले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मारवाडीका ५ समुदायबाट १० टीमको सहभागिता रहने जानकारी गराएका हुन् ।

आनन्द मारवाडी प्रिमियर लिग सिजन—९ नाम दिएको क्रिकेट फागुन ९ देखि १४ गतेसम्म विराटनगर २ स्थित विराट नर्सिङ होम छेउको खाली मैदानमा हुने आयोजक संस्थाले जानकारी दिए । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष प्रदीप अग्रवालले प्रिमियर लिगको विजेताले ६१ हजार रूपैयाँ नगदसहित शिल्ड र उपविजेताले २१ हजार रूपैयाँ नगद पुरस्कार पाउने बताए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई २ हजार १ सय रुपैयाँ प्रदान गरिने छ ।

म्यान अफ द सिरिजलाई ५ हजार १ सय रुपैयाँ दिइनेछ। उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिने एमपिएलका प्रमुख संयोजक हेमन्त अग्रवालले बताए । आनन्द ईटाभट्टा उद्योगको प्रयोजनमा हुन लागेको खेलको आयोजना गर्न १० लाख रुपैयाँ हुने अकलन गरिएको छ । नेपाल अग्रवाल युवा मञ्च, माहेश्वरी युवा मञ्च, ओसवाल युवा मञ्च, नेपाल मारवाडी ब्राह्मण युवा मञ्च र मेंढ स्वर्णकार युवा मञ्चको सहभागिता छ ।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले मारवाडी प्रिमियर लिग क्रिकेट गरेको १२ वर्ष भयो । यसबीच ३ स्पर्धा भएनन् ।