जबरजस्ती कक्षा चलाउँदा नोबेल मेडिकल कलेजमा तोडफोड, केही विद्यार्थी घाइते

910 Shares

काठमाडौं: एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ ।

कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरूले कलेजमा अनशन बस्‍न आएपछि सुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले गरिखान देऊ भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीको हुल देखेपछि व्यवसायीहरू पछि हटेका थिए ।

विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कलेजका कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध आन्दोलनमा उत्रेका थिए । कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्‍न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्ड विद्यार्थीहरुमाथि खनिएका थिए ।

सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अहिले कलेज परिसरमा विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन् ।