हामी जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्छ :ओली

1.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । 

दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएपछि शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नदिने चेतावनी दिए । संसद बैठक बोलाइनुको अ‍ैचित्य सत्तापक्षको प्रस्तुतीबाट थाहा हुने भन्दै उनले गैरसांसदलाई सभामा राखेर बैठक अघि बढ्न नसक्ने टिप्पणी गरे । ओलीले थपे,–“हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ रु नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।”

ओलीले सभामुख अग्नि सापकोटाले सत्ता गठबन्धनसँग अनुचित साँठगाँठ गरेर अवैध ढंगले एमाले फुटाएको आरोप लगाए । आफूहरुले साउन २५ गते नै कारबाही गरेका सांसदलाई निर्वाचन आयोगको निर्णय नआउन्जेल कुरेर सभामुखले असंवैधानिक काम गरेको उनको भनाए थियो । तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले सांसदको मान्यता दिएपछि एमाले सभामुखसँग रुष्ट बनेको हो । एमालेले संसदको अघिल्लो अधिवेशन पनि अवरुद्ध गरेको थियो । 

अध्यक्ष ओलीले कार्यपालिका न्यायपालिका र व्यवस्थापिका सबै लथालिंग भएको भन्दै बर्तमान सत्ता गठबन्धनबाट राज्य सञ्चालन हुन नसक्ने जिकिर समेत गरे । अहिले देखिएका सबै समस्याको समाधान ताजा जनादेशबाट मात्र सम्भव रहेको उनको भनाइ थियो । आफूहरुले पहिलेदेखि नै जनतामा जान राखेको प्रस्ताव उपयुक्त थियो भन्ने पुष्टि भएको दावी गर्दै अध्यक्ष ओलीले जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्ने बताए ।